


बुटवल,१० असार। बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३ अर्ब ९९ करोड २२ लाख २१ हजार २ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार आयोजित नगरसभा बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गरेकी हुन्।
चालु आर्थिक वर्षको ३ अर्ब ३६ करोड १३ लाख रुपैयाँको तुलनामा आगामी वर्षको बजेट करिब ६४ करोड रुपैयाँले बढी रहेको छ। ‘समानता, स्वाभिमान र अवसर, बस्न योग्य बुटवल सहर’ भन्ने नारालाई केन्द्रमा राखेर शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा सुशासनलाई प्राथमिकतामा राखी बजेट ल्याइएको उपप्रमुख अर्यालले बताइन्।

प्रस्तुत बजेटमध्ये चालुतर्फ ५२ प्रतिशत र पुँजीगततर्फ ४८ प्रतिशत विनियोजन गरिएको छ। यस्तै सामाजिक विकास क्षेत्रमा २८ प्रतिशत, आर्थिक विकास क्षेत्रमा १२ प्रतिशत, पूर्वाधार विकासतर्फ ५५ प्रतिशत तथा सुशासन र अन्तरसम्बन्धित क्षेत्रमा ५ प्रतिशत बजेट छुट्याइएको छ।
उपमहानगरपालिकाले आन्तरिक स्रोतबाट १ अर्ब ५० करोड ३८ लाख ५९ हजार २ सय रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। यसबाहेक स्थानीय राजस्व बाँडफाँट अन्तर्गत विज्ञापन, मनोरञ्जन कर र दहत्तर बहत्तरको बिक्रीबाट ७८ करोड ७७ लाख ७८ हजार ८ सय तथा गत आर्थिक वर्षको बचत (अल्या) ४० करोड गरी ३ अर्ब ८५ करोड संकलन हुने अनुमान गरिएको छ।
साथै सङ्घीय तथा प्रदेश सरकारबाट विभिन्न शीर्षकमा अनुदान र राजस्व बाँडफाँटमार्फत बजेट प्राप्त हुने अनुमान गरिएको छ।

