


तिलोत्तमा,१०असार। तिलोत्तमा नगरपालिकाले पूर्वाधार विकास, शिक्षाको गुणस्तर सुधार, कृषि आधुनिकीकरण र सुशासनलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८३/८४ का लागि ३ अर्ब ५ करोड ६७ लाख ८८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार नगरसभाको २१औं अधिवेशनमा उपप्रमुख जगेश्वरदेवी चौधरीले बजेट प्रस्तुत गरेकी हुन्।
कुल बजेटमध्ये पूँजीगततर्फ १ अर्ब ६७ करोड ८४ लाख ६६ हजार रुपैयाँ (५४.९१ प्रतिशत), चालुतर्फ ९२ करोड ३८ लाख २२ हजार रुपैयाँ (३०.२२ प्रतिशत), सामाजिक सुरक्षातर्फ ४५ करोड रुपैयाँ (१४.७२ प्रतिशत) तथा वित्तीय व्यवस्थातर्फ ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

नगरपालिकाले आगामी वर्ष आन्तरिक राजस्वबाट ३६ करोड ६ लाख २५ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ भने बाँकी २ अर्ब ६९ करोड ६१ लाख ६३ हजार रुपैयाँ संघीय तथा लुम्बिनी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण, राजस्व बाँडफाँट र नगद मौज्दातबाट व्यवस्थापन गरिने जनाएको छ।

