


विराटनगर,१० असार। विराटनगर महानगरपालिका–१ स्थित परोपकार घाटमा ‘अश्लिल हर्कत’ गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।दाहसंस्कार गरिने सार्वजनिक स्थलमा ‘अश्लिल हर्कत’ गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो।
विराटनगर-६ का ४४ वर्षीय सुरेन्द्रमणि मण्डल, सुनसरी रामधुनी नगरपालिका-६ का २५ वर्षीय कैलास ढुंगाना, भोजपुर रामप्रसादराई गाउँपालिका-६ का १८ वर्षीय मानिस काफ्ले र विराटनगर-४ का ४४ वर्षीय छविलाल घिमिरेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार, मंगलबार राति करिब १२ः३० बजे घाट क्षेत्रमा केही व्यक्तिहरु भेला भएर हो-हल्ला गरिरहेको तथा तीमध्ये दुई जना पुरुष निर्वस्त्र अवस्थामा रहेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। सोही क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

