


मर्चवार,१० असार। रुपन्देहीको सम्मरीमाइ गाउँपालिका–६ स्थित असुरैना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। नवगठित समितिको अध्यक्षमा पुनः जैसमोहम्मद खान चयन भएका छन्। खान विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमा लगातार छैटौँ पटक चयन हुन सफल भएका हुन्।
अध्यक्ष खानले आफ्नो पहिलो कार्यकाल सम्झँदै आफू नेतृत्वमा आउँदा विद्यालय प्राथमिक तह (कक्षा ५) सम्म मात्र सञ्चालनमा रहेको र विद्यार्थी संख्या पनि निकै कम रहेको बताए। उनले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि निरन्तर प्रयास गरेपछि हाल विद्यालय स्तरोन्नति भई माध्यमिक तहसम्म सञ्चालनमा आएको उल्लेख गरे।

विद्यालयका प्रधानाध्यापक राजकुमार केवाटका अनुसार हाल विद्यालयमा ३५० जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयको गुणस्तर अभिवृद्धि तथा शैक्षिक वातावरण सुधारमा व्यवस्थापन समितिको महत्वपूर्ण भूमिका रहेको उनले बताए।
पुनः अध्यक्षमा चयन भएपछि खानले क्षेत्रका बालबालिका तथा विद्यार्थीहरुको उज्ज्वल भविष्य निर्माणका लागि आफूले अभिभावकीय जिम्मेवारीका साथ निरन्तर काम गर्दै आएको बताए। स्थानीय अभिभावक, शिक्षक, राजनीतिक दल तथा बुद्धिजीवीहरुको निरन्तर सहयोग, विश्वास र साथकै कारण आफू छैटौँ पटक अध्यक्ष पदमा चयन हुन सफल भएको उल्लेख गर्दै उनले सबैप्रति आभार व्यक्त गरे।

