


भैरहवा, असार। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ५६ करोड २ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ। बुधबार नगरसभाको २० औं अधिवेशनमा उपप्रमुख उमा अधिकारीले बजेट प्रस्तुत गरेकी हुन्।
प्रस्तुत बजेटले नगरको समग्र विकासलाई केन्द्रमा राख्दै पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन प्रवर्द्धन तथा नगरवासीलाई आधारभूत सेवा प्रवाहलाई प्राथमिकता दिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार, बजेटले नगरवासीलाई गुणस्तरीय र प्रभावकारी आधारभूत सेवा प्रवाह गर्ने लक्ष्य लिएको छ। सडक, नाली, खानेपानी तथा अन्य भौतिक पूर्वाधारको विस्तार, स्तरोन्नतिका साथै फोहरमैला व्यवस्थापनलाई व्यवस्थित र दिगो लागि आवश्यक बजेट विनियोजन गरिएको छ।
शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि विद्यालय तथा स्वास्थ्य संस्थाको सुदृढीकरण, आवश्यक पूर्वाधार निर्माण र सेवा विस्तारका कार्यक्रमहरु पनि बजेटमा समेटिएका छन्। कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न किसानमुखी कार्यक्रम तथा आधुनिक कृषि प्रविधिको प्रवर्द्धन गरिने उल्लेख गरिएको छ।
नगरपालिकाले प्रस्तुत गरेको बजेट कार्यान्वयनसँगै नगरको समग्र विकास, सेवा प्रवाहमा सुधार तथा नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

