


काठमाडौं,११ असार। सर्वोत्तम पेन्ट्स लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट गरिएको छ। सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले एक औपचारिक कार्यक्रममार्फत आईपीओ बाँडफाँट गरेको हो।
कम्पनीले जेठ २८ गतेदेखि असार २ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो। आईपीओमा कुल २८ लाख ५० हजार २५ आवेदन सदर भएको तथा ४४ हजार २०७ आवेदन बदर भएको थियो। गोलाप्रथामार्फत ७० हजार ५५० जना आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

कैलालीको अत्तरियामा रजिस्टार कार्यालय रहेको कम्पनीले ‘सर्वोत्तम पेन्ट्स’ ब्रान्डअन्तर्गत विभिन्न रङ उत्पादन तथा बिक्री गर्दै आएको छ। कम्पनीका अनुसार आईपीओबाट संकलित पूँजी उत्पादन क्षमता विस्तारमा उपयोग गरिनेछ।
गत पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ११६.४१ रुपैयाँ, प्रतिसेयर आम्दानी ७.५८ रुपैयाँ तथा सञ्चित नाफा ४ करोड १८ लाख रुपैयाँ रहेको छ।
कम्पनीको साधारण लगानी फिर्ता अवधि ६.६० वर्ष र डिस्काउन्टमा लगानी फिर्ता अवधि ७.१० वर्ष रहेको छ। साथै, कम्पनीले केयर रेटिङ नेपालबाट ‘बीबी माइनस’ रेटिङ प्राप्त गरेको छ।

