


भैरहवा, ११ असार। लुम्बिनी विकास कोषमा १२ पदका लागि ७ सयभन्दा बढी आवेदन परेका छन्। पहिलो पटक खुला आवेदन आह्वान गरेसँगै कोषको नेतृत्वमा उल्लेखनीय चासो देखिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार, सदस्य सचिव पदका लागि सबैभन्दा बढी २०९, योजना प्रमुखमा ११२, उपाध्यक्षमा १०४ र कोषाध्यक्षमा ८६ जनाले आवेदन दिएका छन्। परिषद् सदस्य तथा कार्यकारी तहका पदका लागि पनि आवेदन प्राप्त भएका छन् ।

खुला प्रतिस्पर्धाबाट पदाधिकारी छनोट गर्न लागिएपछि कोषका विभिन्न पदमा अपेक्षाभन्दा बढी आवेदन परेका छन्। यसअघि राजनीतिक पहुँचको आधारमा पदाधिकारी नियुक्त गर्ने गरिएको थियो ।
लुम्बिनी, तिलौराकोट, देवदह र रामग्राम क्षेत्रको संरक्षण, विकास तथा धार्मिक–सांस्कृतिक पर्यटन प्रवर्द्धनको जिम्मेवारी बोकेको कोषका महत्वपूर्ण पदमा पुग्न यसपटक प्रतिस्पर्धा तीव्र बनेको देखिएको छ।

