

दाङ,११ असार। लुम्बिनी प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ। बिहीबार दिउँसो १ बजे बस्ने तय गरिएको आठौँ अधिवेशनअन्तर्गत एघारौँ बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।
प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार सभामुखको निर्देशनमा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम बैठक स्थगन गरिएको हो।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति सांसदहरुले निरन्तर विरोध जनाउँदै आएपछि प्रदेश सभाको बैठक पछिल्ला केही दिनयता प्रभावित हुँदै आएको छ। बजेटमा सांसदका योजना कटौती गरिएको भन्दै विपक्षी तथा केही सत्ता पक्षका सांसदहरुले समेत विरोध जनाउँदै आएका छन्।
दलहरुबीच सहमतिको प्रयास जारी रहेकाले बैठक अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको बताइएको छ।



