


भैरहवा,१२ असार। जेसीआई सिद्धार्थ लेडी सिद्धार्थनगरले असार १३ देखि २० गतेसम्म ‘जेसीज सप्ताह–२०२६’ आयोजना गर्ने भएको छ।
संस्थाले शुक्रबार भैरहवामा पत्रकार सम्मेलनमा आयोजना गरेर सप्ताहव्यापी कार्यक्रममार्फत महिला नेतृत्व विकास, सीप अभिवृद्धि, सामाजिक सेवा तथा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य रहेको जनाएको छ।

कार्यक्रम संयोजक पूजा कंडेलका अनुसार, कार्यक्रम अन्तरगत वरमाला तथा दुबोमाला बनाउने तालिम, सिद्धार्थ बाल गृहमा निःशुल्क आँखा शिविर, श्री सत्य साई वृद्ध आश्रममा दही–चिउरा खुलाउने तथा नगद हस्तान्तरण, साई ग्लोबल कलेजमा ‘पावर अफ सबकन्सियस माइण्ड’ तालिम, संस्कृत विद्या सन्यास आश्रममा निःशुल्क दन्त शिविर, महिलाका लागि धागोबाट विभिन्न सामग्री बनाउने हस्तकला तालिम र कार्यक्रमको अन्तिम दिन भैरहवा ब्याडमिन्टन क्लबमा ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिनेछ।
सप्ताहव्यापी कार्यक्रमले महिलाको नेतृत्व र क्षमता विकाससँगै सामाजिक उत्तरदायित्व प्रवर्द्धनमा योगदान पुग्ने विश्वास लिइएको जेसीआई सिद्धार्थ लेडीका अध्यक्ष सिता गैरे भण्डारीले बताइन्।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले महिलाको सीप तथा नेतृत्व विकासमा जेसीजले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। उनले स्वास्थ्य, वातावरण संरक्षण, सीप विकास र सामाजिक उत्तरदायित्वलाई समेटेर समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ सप्ताहव्यापी कार्यक्रम आयोजना गर्नु प्रशंसनीय पहल भएको उल्लेख गरे।

