


भैरहवा,१३ असार। लुम्बिनी प्रदेश प्रहरी कार्यालयले नेपाल प्रहरीको आन्तरिक कार्यसम्पादन मूल्याङ्कनमा जेठ महिनामा पुनः देशभरमा पहिलो स्थान हासिल गर्दै उत्कृष्ट ठहरिएको छ। गत वैशाख महिनामा पनि लुम्बिनी प्रदेश प्रहरीले पहिलो स्थान हासिल गरेको थियो।
प्रहरी प्रधान कार्यालयले मातहतका प्रदेश प्रहरी कार्यालयहरुको कार्यसम्पादन, अपराध नियन्त्रण, शान्ति सुरक्षा व्यवस्थापन तथा नागरिकमुखी प्रहरी सेवाका आधारमा गरेको मूल्याङ्कनमा लुम्बिनी प्रदेश प्रहरी उत्कृष्ट ठहरिएको हो।

प्रदेशका डीआईजी भूपेन्द्रबहादुर खत्रीको नेतृत्वमा प्रविधिमैत्री सेवा, नागरिकसँगको सम्बन्ध सुधार तथा प्रभावकारी सुरक्षा व्यवस्थापनलाई प्राथमिकतामा राख्दै विभिन्न नव प्रवर्तनात्मक अभियान सञ्चालन गर्दै आएको छ ।
प्रहरी सेवालाई थप सहज, छिटोछरितो र प्रभावकारी बनाउन डिजिटल उजुरी प्रणाली तथा सेवाग्राहीलाई एसएमएसमार्फत जानकारी गराउने व्यवस्था विस्तार गरिएको छ। साथै, साइबर अपराध नियन्त्रण, सार्वजनिक सुरक्षा अभिवृद्धि र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘ह्याक फर सेफ्टी’ लगायतका कार्यक्रम सञ्चालन गर्दै प्रविधिमैत्री प्रहरी सेवाको विकासलाई प्राथमिकता दिइएको छ।

