


लुम्बिनी,१३ असार। शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको शिलान्यास गरिएको छ। भुटानका गृहमन्त्री ल्योन्पे छिरिङ, भुटानका धर्मगुरु उप महासङ्घराजा दोर्जे लोपेन रिम्पोछे, नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल, रुपन्देही-५ का सांसद् तौफिक अहमद खान, रुपन्देही-४ का सांसद् कन्हैया बनियाँको उपस्थितिमा शिलान्यास गरिएको हो।
भुटान सरकारका अनुसार आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको गुम्बामा भुटानी मौलिक वास्तुकला, धार्मिक कला, प्रार्थना कक्ष तथा सांस्कृतिक प्रदर्शनी क्षेत्र निर्माण गरिनेछ। यसले लुम्बिनीलाई अन्तरराष्ट्रिय बौद्ध तीर्थस्थलका रुपमा थप प्रवर्द्धन गर्नुका साथै नेपाल–भुटानबीचको सांस्कृतिक तथा धार्मिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

शिलान्याससँगै सम्पन्न नेपाल–भुटान द्विपक्षीय भेटवार्तामा धार्मिक पर्यटन प्रवर्द्धन, पारो–भैरहवा सिधा हवाई उडान सञ्चालन तथा पारो–लुम्बिनी–बोधगया बौद्ध पर्यटन सर्किट विकासका विषयमा पर्यटनमन्त्री पौडेल र भुटानका गृहमन्त्री छिरिङबीच छलफल भएको थियो।
लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानीन राईका अनुसार वार्ताका क्रममा नेपालले दुई महत्त्वपूर्ण प्रस्ताव भुटानी पक्षसमक्ष राखेको थियो। मन्त्री पौडेलले भुटानको पारो अन्तरराष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबीच सिधा हवाई उडान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।
साथै, नेपालले भुटान भ्रमण गर्ने नेपाली नागरिकका लागि लागू रहेको प्रतिदिन १०० अमेरिकी डलर दिगो विकास शुल्क हटाउन वा सहुलियत प्रदान गर्न आग्रह गरेको छ।
भुटानका गृहमन्त्री ल्योन्पे छिरिङले नेपालले उठाएका प्रस्तावहरुलाई सकारात्मक रुपमा लिँदै सम्बन्धित सरकारी तहमा थप छलफल गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
द्विपक्षीय भेटवार्तामा नेपालका तर्फबाट लुम्बिनी क्षेत्रबाट निर्वाचित सांसद तौफिक अहमद खाँन र रुपन्देही–४ बाट निर्वाचित सांसद कन्हैया बनियाको सहभागीता रहेको थियो। यस्तै भुटानका तर्फबाट नेपालका लागि भुटानका राजदूत मेजर जनरल भेत्सोप नामग्येल, भुटान सरकारका गृह सचिव लगायतको सहभागिता रहेको थियो।

