


परासी,१५ असार। पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातुमा खातुन अन्सारीले आफूलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्।
नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिले काङ्ग्रेसबाट निर्वाचित अन्सारी अन्य दलमा प्रवेश गरेको भनी निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी गराए पश्वात् आयोगको असार ८ गतेको बैठकले उपाध्यक्षको पद रिक्त गर्ने निर्णय गरेको थियो। जसपश्चात आयोगले असार ९ गते उपाध्यक्ष पद रिक्त भएको सूचना जारी गरेको थियो।

आयोगको निर्णय कानुनविपरीत रहेको दाबी गर्दै उनले उक्त निर्णय बदर गरी उपाध्यक्षकै हैसियतमा काम गर्न दिनका लागि सर्वोच्चमा उत्प्रेषणको रिट दायर गरेकी हुन्।
रिटमाथि आज न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ। रिटमा निर्वाचन आयोग र नेपाली कांग्रेस केन्द्रीय समितिलाई विपक्षी बनाइएको छ।
यता, पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तालाई पदमुक्त गर्न माग गरिएको रिट उच्च अदालत तुलसीपुरको बुटवल इजलासले खारेज गरेको छ। यससँगै उनको पद हाललाई यथावत् रहने भएको छ।
उनीमाथि २०८१ सालमा लागुऔषधसम्बन्धीको दायर भएको मुद्दामा जिल्ला अदालत नवलपरासीले एक वर्ष कैद र २ लाख जरिवानाको फैसला गरेको थियो।
एक वर्ष कैद सजाय भएपछि धरौटी राखेर पुनरावेदन गर्न पाइने कानुनी व्यवस्थाअनुसार गुप्ताले उच्च अदालतमा पुनरावेदन गरेका थिए । उच्च अदालतले समेत जिल्ला अदालतको फैसलालाई सदर गरेको छ ।

