


दाङ,१५ असार। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि क्षेत्रको आधुनिकीकरण, धान उत्पादन वृद्धि र खाद्य आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।
२३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ को अवसरमा शुभकामना जारी गर्दै मुख्यमन्त्री आचार्यले ‘जलवायूमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारालाई व्यवहारमा उतार्दै कृषि उत्पादन र उत्पादकत्व बढाउने दिशामा प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए।

नेपालको अर्थतन्त्र, खाद्य सुरक्षा, रोजगारी र ग्रामीण जीवनको प्रमुख आधार धान खेती भएकाले यसलाई आधुनिक, व्यवसायिक तथा जलवायूमैत्री बनाउनु समयको आवश्यकता भएको उल्लख गरेका छन्। बदलिँदो जलवायु र मौसमको अनिश्चितताबीच नवीन प्रविधिको प्रयोग, वैज्ञानिक खेती प्रणाली तथा प्रभावकारी व्यवस्थापनमार्फत उत्पादन वृद्धि गर्न सकिने उनको भनाइ छ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले कृषि क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा लिँदै यान्त्रीकरण, व्यवसायीकरण र बजारीकरणलाई प्राथमिकतामा राखेको बताए।
साना तथा सीमान्तकृत किसानलाई विशेष प्राथमिकता दिँदै कृषि उत्पादन वृद्धि, खेतियोग्य जमिनको सदुपयोग, सिंचाइ सुविधाको विस्तार तथा समयमै गुणस्तरीय बीउ र मल उपलब्ध गराउन संघ सरकार, स्थानीय तह र सम्बन्धित निकायसँग प्रभावकारी समन्वय र सहकार्य भइरहेको शुभकामना सन्देशमा उल्लेख छ।
प्रविधिमैत्री खेती प्रणालीको विस्तार र उत्पादनसँगै मूल्य शृङ्खलाको विकासमार्फत कृषिलाई सम्मानित, मर्यादित र लाभदायक पेशाका रुपमा स्थापित गर्न प्रदेश सरकार निरन्तर लागिपरेको उनले बताए।

