


काठमाडौं,११ साउन। नेपाल प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा गैर हाजिर रहेका ११ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।
कार्यालयले सोमबार एक सूचना जारी गर्दै आफूखुसी गैर हाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो। गैर हाजिर भएकाहरुमा प्रहरी सहायक निरीक्षक २ जना, प्रहरी जवान ८ जना र कार्यालय सहयोगी १ जना छन् ।

प्रहरी प्रधान कार्यालयले उनीहरुको नाम, ठेगाना, गैरहाजिर भएको मिति लगायतको विवरणसहित सार्वजनिक सूचना गरी बाटोको म्याद बाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो। उनीहरु गैरहाजिर हुनुको कारण खुलेको छैन ।
तोकिएको समयभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरुलाई प्रहरी नियमावलीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ।


