


काठमाडौं,१३ साउन। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हुन्डी कारोबारमा संलग्न आरोपमा एकजनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा धादिङ सत्यदेवी-८ घर भइ हाल काठमाडौंको नागार्जुन नगरपालिका-८ का ४९ वर्षीय राजेन्द्र प्रसाद रिजाल रहेको प्रहरीले जनाएको छ।

ब्यूरोका प्रवक्ता एवं एसएसपी अनुपम शमशेर ज.ब.रा.का अनुसार, शंकास्पद व्यक्तिहरुको बैंकिङ कारोबार विश्लेषणको क्रममा पक्राउ परेका आरोपीले अन्य व्यक्तिहरुसँगको मिलेमतोमा व्यक्तिगत बैंक खाता प्रयोग गरी १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ बराबरको रकम हुन्डीमार्फत कारोबार गरेको देखिएको छ।
सोही आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर काठमाडौं महानगरपालिका–८,गौरीघाट मन्दिर क्षेत्रबाट रिजाललाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

