


काठमाडौं,२० साउन। एलपीजी ग्यासको आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गरी उपभोक्तालाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल आयल निगमले क्विक रेस्पोन्स टिम (क्यूआरटी) गठन गरेको छ।
निगमका अनुसार, उद्योग मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास व्यवसायीका प्रतिनिधिहरु सम्मिलित उक्त संयन्त्रले देशका जुनसुकै स्थानमा ग्यासको अभाव वा वितरणसम्बन्धी समस्या देखिए तत्काल समन्वय गरी समाधान गर्नेछ।

टिममा उद्योग मन्त्रालयका तर्फबाट मङ्गल बिष्ट, नेपाल आयल निगमबाट इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी तथा ग्यास उद्योगका तर्फबाट आयुस नेपाल र कुलप्रसाद राई सदस्य रहेका छन्।
पछिल्लो समय विभिन्न स्थानमा एलपीजी ग्यास नपाएको गुनासो बढ्न थालेपछि समस्या छिटो सम्बोधन गर्न यो संयन्त्र गठन गरिएको हो। निगमको हटलाइनमा प्राप्त हुने गुनासोका आधारमा सम्बन्धित उद्योग, डिलर तथा व्यवसायीसँग समन्वय गरेर उपभोक्तासम्म ग्यास आपूर्ति सहज बनाइने जनाइएको छ।
क्विक रेस्पोन्स टिमले कार्यालय समयभित्र प्राप्त हुने गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गर्दै सकेसम्म तत्काल समाधान गर्ने गरी काम गर्ने निगमले जनाएको छ।
ग्यास आपूर्तिसम्बन्धी कुनै समस्या वा गुनासो भए उपभोक्ताले कार्यालय समयभित्र नेपाल आयल निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न सक्नेछन्। उक्त नम्बरमा प्राप्त हुने गुनासोमाथि क्विक रेस्पोन्स टिमले आवश्यक पहल गर्दै समाधान प्रक्रिया अघि बढाउने निगमले जनाएको छ।
साथै, निगमको माग अनुसार आपूर्ति भइरहेको र कुनै समस्या नरहेकोले अनावश्यक रुपमा ग्यास खरिद गरी भण्डारण नगर्नका लागि अनुरोध गरिएको छ । काठमाडौं उपत्यका बाहिर ग्यासको विषयमा कुनै समस्या भए सार्वजनिक गरिएको फोन नम्बरमा सम्पर्क गर्न निगमले आग्रह गरेको छ ।
कार्यालयको नाम र फोकल पर्सनको सम्पर्क नम्बर :
१) लुम्बिनी प्रादेशिक कार्यालय, अमित लोहनी-९८४७४८५७८४
२) गण्डकी प्रादेशिक कार्यालय, गणेश बहादुर मगर-९८५६०३५४४४
३) कोशी प्रादेशिक कार्यालय, भिम बहादुर विश्वकर्मा-९८०४९५१७९२
४) कर्णाली प्रादेशिक कार्यालय, राम कुमार केएम-९८५८०४६४००
५) सुदुरपश्चिमाञ्चल प्रादेशिक कार्यालय, कुम्भराज जोशी-९८४८४७५८०३
६) इन्धन डिपो, नेपालगञ्ज, खगेन्द्र प्रसाद अधिकारी-९८६८९०४५२७
७) शाखा कार्यालय, झापा, पुण्य प्रसाद पौडेल-९८४१७६३९७३
८) इन्धन डिपो, महेन्द्रनगर, धनुषा, रामराज सिंह-९८०४७५८००९
९) शाखा कार्यालय, विरगञ्ज, काशीराम ओली-९७६७७२११५१
१०) नेपाल आयल निगमको हटलाइन नम्बर ०१–५९७१९०२ (कार्यालय समयमा)

