


भैरहवा, २० साउन । तिव्र गतिमा सवारी साधन चलाउने ३१ जनालाई रुपन्देही ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
बुधवार जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले तिलोत्तमा नगरपालिका–१५ स्थित सिद्धार्थ राजमार्गमा जडान गरिएको एएनपीआर (अटोमेटिक नम्बर प्लेट रिकग्निसन) प्रविधिमार्फत सवारी साधन गतिको सीमा उल्लंघन गर्ने ३१ जनालाई जरिवाना कारवाही गरिएको जनाएको छ।

रुपन्देही ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक प्रतिमा कार्कीका अनुसार, सडक दुर्घटना न्यूनीकरण तथा चालकमा जिम्मेवारीबोध अभिवृद्धि गर्नका लागि निरन्तर सचेतनामूलक कार्यक्रमका साथै कारवाही गर्ने गरिएको छ।
एएनपीआर प्रविधिबाट सवारीसाधनको नम्बर प्लेट स्वतः पहिचान गरी तोकिएको गति सीमा नाघ्ने सवारीसाधनका चालकलाई प्रचलित कानुनअनुसार कारवाही गरिँदै आएको कार्यालयले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले सबै चालकलाई निर्धारित गति सीमा पालना गर्न आग्रह गर्दै सुरक्षित र जिम्मेवार ढङ्गले सवारी चलाउन अनुरोध गरेको छ।

