


बुटवल,२१ साउन । पहिरोका कारण अवरुद्ध भएको बुटवल–पाल्पा सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तानसेन नगरपालिका–८ स्थित गौडेपुल नजिक आज बिहान करिब १० बजे पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका अनुसार हाल एकतर्फी रुपमा सवारीसाधन सञ्चालन गरी गन्तव्यतर्फ पठाउने व्यवस्था गरिएको छ। सडकलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन पहिरो पन्छाउने कार्य भने निरन्तर जारी रहेको प्रहरीले जनाएको छ।
दुईतर्फी यातायात सञ्चालन हुन अझै केही समय लाग्ने बताइएको छ। पहिरोका कारण सिद्धार्थ राजमार्ग हुँदै बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा लगायतका जिल्लातर्फ जाने तथा ती क्षेत्रबाट बुटवल आउने सवारीसाधन प्रभावित भएका छन्।
ट्राफिक प्रहरीले यात्रुलाई यात्रा गर्दा आवश्यक सावधानी अपनाउन तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।

