


काठमाडौं,२२ साउन । भूमि व्यवस्थापन तथा अभिलेख विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा एकपटकमा तीन करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई २१ दिनभित्र अनलाइनमार्फत इजाजतपत्रका लागि आवेदन दिन आग्रह गरेको छ।
विभागले राजपत्रमा प्रकाशित व्यवस्था अनुसार, यस्तो कारोबारका लागि इजाजतपत्र अनिवार्य रहेको स्मरण गराउँदै तोकिएको समयभित्र आवेदन दिन अनुरोध गरेको हो।

विभागका अनुसार एकपटकमा पाँच करोड रुपैयाँसम्मको कारोबार गर्ने फर्म, कम्पनी तथा संस्थाले पाँच लाख रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ। पाँच करोड रुपैयाँभन्दा बढीको कारोबार गर्नेले १० लाख रुपैयाँ दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ।
यसअघि अनलाइन आवेदन दिए पनि २०८३ असार मसान्तसम्म इजाजतपत्र नलिएका फर्म, कम्पनी तथा संस्थाले नयाँ सूचनाअनुसार पुनः आवेदन दिनुपर्ने विभागले जनाएको छ।
अनलाइन आवेदनसँगै आवश्यक कागजातको प्रतिलिपि विभागमा बुझाउनुपर्नेछ। साथै, कम्पनी वा संस्थाका सञ्चालकले नेपाल प्रहरीको केन्द्रीय अपराध सूचना अभिलेखालयबाट आपराधिक गतिविधिमा संलग्न नरहेको व्यहोराको पत्रसमेत पेस गर्नुपर्ने व्यवस्था रहेको विभागले जनाएको छ।
इजाजतपत्रसम्बन्धी थप जानकारी आवश्यक परे विभागमा सम्पर्क गर्न पनि विभागले अनुरोध गरेको छ।

