


काठमाडौं,२२ साउन। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत पहिलो बम्पर उपहारको नतिजा सार्वजनिक गरिएको छ।
कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित शिव कृष्ण जेनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँ नगद बम्पर उपहार जितेका छन्।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विजेताको घोषणा गरेका हुन्। विभागका अनुसार, कुपन नम्बर ००७३१५२५४४९३ का उपभोक्ता बम्पर उपहारका विजेता बनेका हुन्।
विभागले साउन १ देखि १५ गतेसम्मको कारोबारका आधारमा बम्पर विजेतासँगै पहिलो १५ दिनमा अन्य १५ उपभोक्ताहरुले पनि एक-एक लाख रुपैयाँ नगद उपहार जितेका छन्।
यो अवधिमा अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका तथा नगदमा खरिद गरी बिल विभागको प्रणालीमा अपलोड गरेका उपभोक्ताहरु उपहार कार्यक्रममा सहभागी भएका थिए।
करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि अनुसार बैंक वा वालेटको क्युआर कोडमार्फत भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता स्वतः कार्यक्रममा सहभागी हुन्छन्। यद्यपि, उपहार दाबी गर्दा खरिदको बिल अनिवार्य रुपमा पेस गर्नुपर्ने व्यवस्था छ।
नगदमा वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले भने विक्रेतासँग अनिवार्य रुपमा प्यान वा भ्याट बिल लिनुपर्नेछ। उक्त बिल आन्तरिक राजस्व विभागको आधिकारिक वेबसाइट prize.ird.gov.np मा अपलोड गरेपछि प्राप्त हुने कुपनका आधारमा उनीहरु उपहार कार्यक्रममा सहभागी हुन सक्नेछन्।
अर्थमन्त्री डा. वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत उपभोक्तामा बिल लिने संस्कृतिको विकास गर्ने र करदातालाई प्रोत्साहन गर्ने उद्देश्यसहित यो कार्यक्रम घोषणा गरेका थिए।
विभागका अनुसार, अब यो कार्यक्रम नियमित रुपमा सञ्चालन हुनेछ। हरेक महिनाको १ देखि १५ गतेसम्म भएको कारोबारका लागि १६ गते र १६ गतेदेखि महिनाको अन्तिम दिनसम्म भएको कारोबारका लागि महिनाको अन्तिम दिन उपहार विजेताको घोषणा गरिनेछ।

