


भैरहवा, २२ साउन । सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तरगतको बम्पर उपहारको नतिजा सार्वजनिक गरेसँगै योजनाप्रति उपभोक्ताहरुको चासो बढेको छ ।
उपभोक्तामा बिल लिने संस्कृतिको विकास गर्दै कर प्रणालीलाई थप पारदर्शी बनाउनका लागि योजना संचालनमा ल्याइएको हो । यस कार्यक्रम अन्तर्गत कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित शिव कृष्ण जेनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँ नगद र अन्य १५ जनालाई एक–एक लाख रुपैयाँको उपहार जितेका छन्।

आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मराज भुसालका अनुसार, गोपनीयता कायम गर्नका लागि नगद उपहार पाउनेहरुको परिचय खुलाइएको छैन।
शुक्रवार नतिजा सार्वजनिक भएसँगै कार्यक्रममा कसरी सहभागी हुने विषयमा उपभोक्ताहरुमा अन्यौलता देखिएपछि हामीले यहाँ कार्यक्रममा सहभागीताको प्रक्रियाबारे जानकारी साझा गरेका छौं ।
विभागका अनुसार, उपभोक्ताले दुई तरिकाबाट यो कार्यक्रममा सहभागी हुन सक्छन्।
पहिलो, बैंक वा डिजिटल वालेटको क्युआर कोडमार्फत वस्तु तथा सेवा खरिद गरी भुक्तानी गर्ने उपभोक्ता स्वतः उपहार कार्यक्रममा सहभागी हुन्छन्। यद्यपि, उपहार दाबी गर्दा खरिदको बिल अनिवार्य रुपमा पेस गर्नुपर्नेछ।
दोस्रो, नगदमा सामान वा सेवा खरिद गर्ने उपभोक्ताले विक्रेतासँग अनिवार्य रुपमा प्यान वा भ्याट बिल लिनुपर्नेछ। त्यसपछि उक्त बिल आन्तरिक राजस्व विभागको आधिकारिक वेबसाइट prize.ird.gov.np मा अपलोड गरेपछि प्राप्त हुने कुपन नम्बरका आधारमा उपहार कार्यक्रममा सहभागी हुन सकिनेछ ।
नगदमा कारोबार गरेका उपभोक्ताहरुले वेभसाइटमा क्लिक गरेर पछि बिल दर्तामा हुँदै भुक्तानी विधिमा नगदमा क्लिक गरेपछि दर्ताका लागि फारम खुल्छ।
त्यसपछि बिल विवरणको शिर्षक अन्तरगत बिल नम्बर, विक्रेताको प्यान नम्बर, बिल मिति र बिल कुल रकम उल्लेख गर्नुपर्ने हुन्छ। भुक्तानीकर्ताको विवरणमा भुक्तानीकर्ताको नाम, मोबाइल नम्बर र ठेगाना उल्लेख गरेपछि तलतिर पुरस्कर कुपन सिर्जना गर्नुहोस् लेखिएकोमा क्लिक गरेपछि बिल पुरस्कार कुपन नम्बरको प्राप्तीसँगै कार्यक्रममा सहभागीता जनाउन सकिन्छ ।
आन्तरिक राजस्व विभागका अनुसार, यो कार्यक्रम अब नियमित रुपमा सञ्चालन हुनेछ। हरेक महिनाको १ देखि १५ गतेसम्म भएको कारोबारका आधारमा १६ गते र १६ गतेदेखि महिनाको अन्तिम दिनसम्म भएको कारोबारका आधारमा महिनाको अन्तिम दिन उपहार विजेताको घोषणा गरिने व्यवस्था छ।

