


काठमाडौं,२२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिल २ र ३ नापी टोली गोकर्ण (माकलबारी) मा कार्यरत अमिन टोपजङ खत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
जग्गा हालसाविक गरी जग्गाधनी पुर्जा बनाउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम माग गरेको उजुरीका आधारमा अख्तियारको टोलीले खत्रीलाई घुससहित नियन्त्रणमा लिएको थियो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, सेवाग्राहीसँग १ लाख ६० हजार घुस लिएको पुष्टि हुनआएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर ठहर भएकाले बिगो रकम १ लाख ६० हजार रुपैयाँ कायम गरी उनीविरुद्ध आज विशेष अदालतमा आरोप पत्र दायर गरिएको हो ।
अख्तियारले खत्रीलाई ऐनको सम्बन्धित व्यवस्थाअनुसार कैद सजाय तथा बिगोबमोजिम जरिवाना हुन माग दाबी गरेको छ।

