


भैरहवा,२३ साउन। रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (युसीएमएस) ले अत्याधुनिक १२८ स्लाइस सिटी स्क्यान सेवा तथा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ।
अस्पतालले रेडियोलोजी विभागको ‘रजत जयन्ती’का अवसरमा शनिबारदेखि दुवै सेवा सुरु गरेको हो।

०५४ सालमा स्थापना भएको अस्पतालले बिरामीलाई आधुनिक तथा गुणस्तरीय रेडियोलोजिकल निदान सेवा उपलब्ध गराउने उद्देश्यले १२८ स्लाइसको नयाँ सिटी स्क्यान र एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको अस्पतालका प्रबन्ध निर्देशक खुमाप्रसाद अर्यालले बताए।
उनका अनुसार, नयाँ प्रविधिसहितको सिटी स्क्यान सेवा सञ्चालनमा आएसँगै यस क्षेत्रका बिरामीलाई थप गुणस्तरीय स्वास्थ्य सेवा स्थानीयस्तरमै उपलब्ध हुनेछ।
अत्याधुनिक सिटी स्क्यान सेवाले यस क्षेत्रका बिरामीलाई थप सहजता प्रदान गर्ने र आवश्यक उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुने उनले बताए ।

नयाँ सिटी स्क्यान सेवामा विश्वप्रसिद्ध ब्रान्डको अत्याधुनिक मेसिन प्रयोग गरिएको अस्पतालले जनाएको छ। यसबाट कम समयमा उच्च गुणस्तरयुक्त र भरपर्दो रिपोर्ट प्राप्त हुनुका साथै मुटुको थ्रीडी क्यामेरा सहितको स्क्यान, आर्टिफिसियल इन्टेलिजेन्स तथा अटो पोजिसनिङ प्रविधिको सुविधा उपलब्ध हुने बताइएको छ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पी.एस.ले रेडियोलोजी विभागले स्थापनाकालदेखि नै गुणस्तरीय सेवा दिँदै आएको र नयाँ सिटी स्क्यान सेवाले अस्पतालको निदानात्मक क्षमता थप विस्तार गरेको बताए।
अस्पतालका रेडियोलोजी विभाग प्रमुख प्रा.डा. सदन मुखीले आधुनिक प्रविधिको सिटी स्क्यानले रोगको पहिचान तथा निदानलाई थप प्रभावकारी बनाउने बताए। उनका अनुसार, नयाँ उपकरणमा उपलब्ध विभिन्न प्रविधिले विशेषगरी जटिल तथा संवेदनशील अवस्थाको परीक्षणमा चिकित्सकलाई थप सहयोग पुग्नेछ।
हाल रेडियोलोजी विभागमा १ जना प्राध्यापक, २ जना सह–प्राध्यापक, ४ जना उप–प्राध्यापक, १५ जना प्राविधिक, २ जना नर्सिङ कर्मचारी र ३ जना सहयोगी गरी कुल २७ जना जनशक्ति कार्यरत छन्।
विभागले शैक्षिक क्षेत्रमा पनि उल्लेख्य उपलब्धि हासिल गरेको अस्पतालले जनाएको छ। सन् २००९ देखि हालसम्म स्नातकोत्तर कार्यक्रमअन्तर्गत एमडी रेडियोलोजिष्टमा ४२ जना उत्तीर्ण भएका छन् भने सन् २०१५ देखि स्नातक कार्यक्रमअन्तर्गत बीएस्सी एमआईटीमा २८ जना विद्यार्थी उत्तीर्ण भएका छन्। दुवै कार्यक्रममा शतप्रतिशत नतिजा हासिल भएको अस्पतालको दाबी छ।
रेडियोलोजी विभागले स्थापनाकालदेखि हालसम्म ७ लाख ७६ हजार ६३८ एक्स–रे, ५ लाख ४० हजार ८५२ भिडियो एक्स–रे, १ लाख ४४ हजार १८० सिटी स्क्यान, ४५ हजार ८७८ एमआरआई, १० हजार ९५० कलर डप्लर, १२ हजार ४८० ईईजी तथा ८०४ मेमोग्राफी सेवा प्रदान गरिसकेको जनाएको छ।
यस्तै अस्पतालले बिरामीलाई अस्पतालसम्म ल्याउन तथा लैजानका लागि भेन्टिलेटर सुविधासहितको एम्बुलेन्स सेवा पनि सञ्चालनमा ल्याएको छ। सिद्धार्थनगर नगरपालिकामा निःशुल्क रुपमा एम्बुलेन्स सेवा प्रदान गरिने प्रबन्धक निर्देशक अर्यालले बताए ।

अस्पतालले १२८ स्लाइस सिटी स्क्यान र एम्बुलेन्स सेवा सञ्चालनमा आएसँगै बिरामीहरुलाई आधुनिक निदान तथा आपतकालीन यातायात सेवामा थप सहजता हुने विश्वास लिइएको अस्पतालका सूचना अधिकारी सुशील गुरुङले बताए ।

