


भैरहवा,२३ साउन। लुम्बिनी प्रदेशका १२ जिल्लाका पर्यटकीय गन्तव्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले पर्यटन व्यवसायी एकजुट भएका छन्। पर्यटन व्यवसायीको हकहितसँगै प्रदेशका गन्तव्यको प्रवर्द्धन गर्न पहिलोपटक होटल संघ नेपाल, लुम्बिनी प्रदेश तदर्थ समिति गठन गरिएको हो।
बुटवलमा आयोजित कार्यक्रममा रुपन्देहीका पर्यटन व्यवसायी चन्द्रप्रकाश श्रेष्ठको अध्यक्षतामा तदर्थ समिति घोषणा गरिएको छ। समितिको वरिष्ठ उपाध्यक्षमा प्रवीणबहादुर पाठक, प्रथम उपाध्यक्षमा हरिबहादुर थापा, द्वितीय उपाध्यक्षमा अनिलप्रसाद श्रेष्ठ र महासचिवमा टेकनाथ बस्याल रहेका छन्।

समितिले प्रदेशका विभिन्न जिल्लामा रहेका प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पर्यटकीय गन्तव्य पहिचान गरी तिनको प्रवर्द्धन गर्ने जनाएको छ। समितिका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले पर्यटनको प्रचुर सम्भावना बोकेको लुम्बिनी प्रदेशका गन्तव्यलाई व्यवस्थित रुपमा स्वदेश तथा विदेशमा प्रवर्द्धन गर्न व्यवसायी एकजुट भएको बताए।
कार्यक्रममा पर्यटन विकास परिषद् लुम्बिनीकी कार्यकारी निर्देशक शारदा बस्यालले प्रदेशका विविध गन्तव्यलाई जोडेर पर्यटन प्याकेज निर्माण गर्नुपर्ने बताइन्। उनले पूर्वाधारसँगै आतिथ्य सेवामा सुधार गरी पर्यटकीय गन्तव्यका कथा पर्यटकमाझ पुर्याउन आवश्यक रहेकोमा जोड दिइन्।
मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकको बसाइ लम्ब्याउन सुविधा सम्पन्न होटल तथा पर्यटन पूर्वाधार विस्तार गर्न निजी क्षेत्रलाई आग्रह गरे। प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाउँदै उनले नयाँ पर्यटकीय गन्तव्य पहिचान र विकासमा जोड दिए।
कार्यक्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन, सीमावर्ती क्षेत्रबाट पर्यटक आगमन वृद्धि, पर्यटन क्षेत्रको सुरक्षा तथा लुम्बिनी र भारतको उत्तर प्रदेशबीच पर्यटकीय सम्बन्ध विस्तार गर्नुपर्ने विषयमा पनि जोड दिइएको थियो।

