


काठमाडौं,२४ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यले कार्यक्रम अघि बढाउन लागिएको पार्टीले जनाएको छ।
रास्वपाका सहमहामन्त्री असिम शाहका अनुसार सरकारमा सहभागी मन्त्रीहरु महिनामा कम्तीमा एकपटक अनिवार्य रुपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भएर नागरिक तथा पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा सहभागी हुनेछन्।

कार्यक्रमले आम नागरिकका आवाजलाई प्रत्यक्ष रुपमा राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म पुर्याउने पुलको काम गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको पहिलो चरणमा साँझ ५ बजेदेखि ६ बजेसम्म एक घण्टा नागरिक संवाद सञ्चालन हुनेछ। उक्त समय आम नागरिकका लागि खुला रहनेछ। सो क्रममा मन्त्रीहरुले सर्वसाधारणका गुनासा, समस्या, अपेक्षा तथा सुझाव प्रत्यक्ष रुपमा सुन्ने विज्ञप्तिमा उल्लेख छ।
त्यसपछि साँझ ६ बजेदेखि दोस्रो चरणको कार्यक्रम सञ्चालन हुनेछ। यस चरणमा सम्बन्धित मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यहरुबीच संयुक्त बैठक बस्नेछ।
पहिलो चरणमा नागरिकबाट प्राप्त सुझाव तथा देशका समसामयिक, बहुआयामिक र नीतिगत विषयमा दोस्रो चरणमा सघन छलफल गरिने रास्वपाले जनाएको छ।

