


काठमाडौं, २५ साउन । नेपाल प्रहरीका देशभरमा ३६३ प्रहरी युनिटहरु अझै पनि भाडाका घरबाट सञ्चालन भइरहेका छन्।
आफ्नै भवन नहुँदा ती प्रहरी युनिटहरु भाडाका घरबाट सञ्चालन गर्नुपरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार, थप ४१८ प्रहरी युनिटहरु विभिन्न निकायका भवनमा आश्रित भएर सञ्चालन भइरहेका छन्।
देशभर नेपाल प्रहरीका कुल २ हजार ६६९ युनिटहरु रहेका छन्। तीमध्ये १ हजार ८८४ युनिटका आफ्नै भवन छन्। बाँकी युनिट भने भाडाका घर तथा अन्य निकायका भवनमा आश्रित भएर सञ्चालन भइरहेका छन्।
त्यस्तै, ६७४ प्रहरी युनिटको आफ्नै जग्गासमेत छैन। देशभरका ८५३ प्रहरी इकाईमा भने ब्यारेकको व्यवस्था समेत नरहेको प्रहरीले जनाएको छ।

