


नेपालगञ्ज,२६ साउन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगञ्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोबी, वडा सचिव वीरबहादुर थापा मगरसहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार, धोबी र थापा मगरले सरकारी कागजातमा फेरबदल गरी झुट्टा विवरणसहितको लिखत तयार गरेको आरोप छ। उनीहरुले सम्पत्ति शुद्धीकरणसम्बन्धी विचाराधीन मुद्दामा प्रमाण सिर्जना गर्ने उद्देश्यले पदको दुरुपयोग गरेको अख्तियारको दाबी छ।

यस्तै, बाँकेको नेपालगञ्ज–२० का रविन्द्र लामिछाने र उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–५ का विकासकुमार चापागाईंले गैरकानुनी लाभ लिन सहयोग गरेको आरोपमा मतियारका रुपमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
चारै जनाको मिलेमतोमा २०७९ साउन १० गते भक्तपुरको मध्यपुर थिमी–१७ स्थित १६४.१४ वर्गमिटर जग्गा ७० लाख रुपैयाँमा खरिद–बिक्री भएको देखाउने गरी झुट्टा करारनामा तयार गरिएको अख्तियारको आरोप छ। आयोगले आरोपितमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबी गरेको छ।

