


काठमाडौं,२६ साउन । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। सोमबार ९.०२ अंकले घटेको नेप्से परिसूचक मंगलबार भने ०.७९ अंकले बढेको हो।
नेप्सेमा सामान्य वृद्धि भएसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। मंगलबार ३४० वटा स्क्रिप्सको ९५ लाख ३४ हजार २२१ कित्ता सेयर ४ अर्ब ११ करोड ९ लाख ७४ हजार ६७४ रुपैयाँमा खरिदबिक्री भएको छ।

मंगलबार अपर लोहोरे खोला हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो भने महिला लघुवित्त वित्तीय संस्थाको सेयरमा नकारात्मक सर्किट लागेको छ।
कारोबारमा आएका ३४० वटा स्टक्समध्ये १३३ वटाको मूल्य बढेको छ भने १२२ वटाको मूल्य घटेको छ। यस्तै, २० वटा स्टक्सको मूल्य स्थिर रह्यो।
कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको ४४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। रिडी पावरको ३३ करोड, नगदी ग्रुपको १७ करोड, खानीखोला हाइड्रोपावरको १३ करोड र फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
मंगलबार ६ समूहका उपसूचक बढेका छन् भने बाँकी समूहका उपसूचक घटेका छन्। बैंकिङ, होटल्स एण्ड टुरिजम, हाइड्रोपावर, इन्भेस्टमेन्ट, लाइफ इन्स्योरेन्स र अदर्श समूहका उपसूचकबाहेक बाँकी समूहका उपसूचक नकारात्मक देखिएका छन्।

