


भैरहवा,२६ साउन । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुँदा सुनसान छ। स्थानीय व्यवसायीहरुले विमानस्थल पूर्ण रुपमा संचालनका लागि सरकारलाई दवाव दिइरहेकै छन् । संघसंस्थाबाट कयौं पटक ज्ञापन पत्र समेत बुझाइसकिएको छ। तर, विमानस्थलमा तत्काल उडान हुने कुनै सुरसार देखिएको छैन।
नियमित उडान नै नभएको विमानस्थलमा भने दर्जनौं कर्मचारी करार तथा दैनिक ज्यालादारीमा भर्ना गरेर मासिक लाखौं तलब सुविधा दिएर राखिएको छ।

विमानस्थलका कार्यवाहक महाप्रबन्धक श्यामकिशोर शाहका अनुसार, २४ जना करार र ६६ जना ज्यालादारीमा गरी ९० जना कर्मचारी कार्यरत छन्। साथै, विमानस्थलमा विभिन्न तहका गरी १ सय ४१ जनाको स्थायी दरबन्दी रहेकामा ८१ जना स्थायी कर्मचारी मात्र कार्यरत छन्।
नियमित उडान नहुँदा स्थायी कर्मचारीलाई समेत पर्याप्त काम नपुगेको अवस्थामा थप करार तथा ज्यालादारी कर्मचारी राख्दा राज्यलाई अनावश्यक आर्थिक भार परेको सरोकारवालाहरुको टिप्पणी छ।
विमानस्थललाई हेरेर भैरहवा क्षेत्रमा अर्बौं लगानी भइसकेको छ। तर, विमानस्थल पूर्ण संचालनमा सरकारको उदासिनताका कारण लगानीकर्ता निराश बनेका छन् ।

