


काठमाडौं,२७ साउन। थाइल्याण्डबाट हङकङ हुँदै नेपाल भित्र्याइएको १८ किलो लागुऔषध गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गर्ने विदेशी यात्रुमाथि गरिएको प्रोफाइलिङका क्रममा उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भारतको पञ्जाबका ३६ वर्षीय सञ्जीव कुमार र २६ वर्षीय रवि कुमार रहेका छन्।

प्रहरीले उनीहरुको साथबाट १८ किलो गाँजा, दुई थान पासपोर्ट, दुई थान मोबाइल फोन र चार थान झोला बरामद गरेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले नेपाल प्रवेश गरेपछि पक्राउबाट जोगिन फरक शैलीको योजना बनाएको खुलेको प्रहरीले जनाएको छ। विमानस्थलको आगमनतर्फ रहेको भन्सार क्षेत्रमा लगेज छाडेर बाहिरिने र केही दिनपछि नेपाली एजेन्टमार्फत उक्त लगेज दाबी गरी लैजाने योजना उनीहरुको रहेको बताइएको छ।
प्रहरीका अनुसार, लागुऔषध तस्करीमा संलग्न समूहले विमानस्थलमा सुरक्षाकर्मीको निगरानी छल्न यस्तो तरिका अपनाउने गरेको हुनसक्ने देखिएको छ। लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान जारी रहेको जनाएको छ।

