


दाङ,२७ साउन। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई उद्यम, उत्पादन र समाज रुपान्तरणको अभियानमा जोड्नुपर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले युवाको ऊर्जा, क्षमता, सिर्जनशीलता र नवीन सोचलाई सही दिशामा परिचालन गर्न सके समृद्ध र आत्मनिर्भर समाज निर्माण गर्न सकिने बताए।

मुख्यमन्त्री आचार्यले युवालाई रोजगारी खोज्ने व्यक्तिका रुपमा मात्र नभई उद्यम तथा उत्पादनका नेतृत्वकर्ता बनाउने नीति प्रदेश सरकारले अघि सारेको उल्लेख गरे। नवप्रवर्तन, स्टार्टअप, कृषि तथा उद्यमशीलतामार्फत युवालाई रोजगारी र स्वरोजगारसँग जोड्ने कार्यक्रमलाई प्राथमिकता दिइएको उनले बताए।
युवाको उद्यमशीलता प्रवर्द्धनका लागि ब्याज अनुदानलगायत प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएको जनाउँदै उनले युवालाई कुलत र सामाजिक विकृतिबाट टाढा राखी ज्ञान, सीप, प्रविधि, खेलकुद, उद्यम तथा सामाजिक सेवामा अघि बढाउन राज्य, परिवार र समुदायको साझा प्रयास आवश्यक रहेको बताए।

