


भैरहवा, २७ साउन । रुपन्देहीमा ५३ जनाले नेपाली नागरिकता त्याग गरेका छन्। गत आर्थिक वर्ष २०८२/८३ मा ५३ जनाले नेपाली नागरिकता त्याग गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
कार्यालयका अनुसार, अन्य देशको नागरिकता लिइसकेको वा लिने प्रक्रियामा रहेको तथा विदेशी नागरिकसँग विवाह गरी विदेशमै बसोबास गरेका कारण देखाउँदै उनीहरुले नेपाली नागरिकता त्यागेका हुन्।

‘विदेश मोह’ का कारण नागरिकता त्याग गर्नेमा अधिकांश युवापुस्ता छन्। जो वैदशिक रोजगारीको शिलशिलामा विदेश जाने गरेको र वर्षौ विदेश कार्यरत रही सोही देशको नागरिकता प्राप्त गरी/गर्नका लागि आफ्नो मातृभूमीलाई छाडेर विदेशी नागरिकता लिने गरेका छन्।
नेपाली नागरिकता त्याग्ने व्यक्तिहरुलाई देशको माटो प्रति माया रहेपनि मुलुकको दुरवस्था कारण नेपालीहरुले विदेशको बसाई रोज्ने गरेको समाजशास्त्रीहरु बताउँछन् ।
राज्यले आफ्नो नागरिकको सुरक्षा, रोजगारी लगायतको ग्यारेण्टी गरेर कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी रहेपनि नागरिकको वेवास्ता गर्दा नेपालीहरुले नागरिकता त्याग गरेर अन्य देशको नागरिक बन्दै गएको उनीहरुको भनाई छ ।
यस्तै गत आर्थिक वर्षमा रुपन्देहीमा ६५ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन्।
रुपन्देहीमा अंगिकृत नागरिकता लिनेको संख्या पनि बढेको छ । जिल्ला प्रशासन कार्यालयका अधिकृत विष्णुप्रसाद ज्ञवालीका अनुसार, आर्थिक वर्ष २०८२/८३ मा १ हजार १६७ जनाले वैवाहिक अंगीकृत र ३३४ जनाले अंगीकृत नागरिकता प्राप्त गरेका छन्।
रुपन्देहीमा पछिल्लो आर्थिक वर्षमा कुल २७ हजार ४९३ जनाले नागरिकता प्राप्त गरेको कार्यालयले जनाएको छ ।

