


काठमाडौं,२७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरुको संसदीय भूमिका थप प्रभावकारी बनाउन तीनदिने प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।
रास्वपा सचेतक क्रान्तिशिखा धितालका अनुसार, आगामी साउन २९ देखि ३१ गतेसम्म ललितपुरको गोदावरीस्थित फरेस्ट क्षेत्रमा आवासीय रुपमा प्रशिक्षण कार्यक्रम अर्थात् ‘क्लोज क्याम्प’ सञ्चालन गरिनेछ।

प्रशिक्षणमा संसद्को गरिमा, सांसदको भूमिका तथा पार्टीको नीति र उद्देश्यअनुसार सांसदहरुले निर्वाह गर्नुपर्ने जिम्मेवारीका विषयमा छलफल तथा प्रशिक्षण दिइनेछ। सांसदहरुको आवश्यकताअनुसार प्रशिक्षणको कार्यतालिका तयार गरिने सचेतक धितालले बताइन्।
प्रशिक्षणका लागि प्रशिक्षकहरु भने तय हुने क्रममा छन्। सांसदहरुले यसअघि दिएका सुझाव र उनीहरुको आवश्यकतालाई समेत आधार बनाएर प्रशिक्षणका विषय निर्धारण गरिनेछ।
सांसदहरुको सिकाइ निरन्तर प्रक्रिया भएकाले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक विषयमा प्रशिक्षण केन्द्रित गरिने धितालको भनाइ छ। रास्वपाले यसअघि पनि आफ्ना सांसदहरुलाई दुईपटक प्रशिक्षण दिइसकेको छ।

