


काठमाडौं,२८ साउन। सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था तत्काल पुनरावलोकन वा खारेज नगर्ने स्पष्ट पारेको छ।
बिहीबार राष्ट्रिय सभामा सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन शाहको तर्फबाट जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले अन्तर्राष्ट्रिय अभ्यास र मुलुकको आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर दुई दिने बिदा लागू गरिएको बताइन्।

उनका अनुसार इन्धन खपत घटाउने, प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्ने, कर्मचारीको कार्य–जीवन सन्तुलन मिलाउने तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको यो व्यवस्था प्रभावकारी देखिएको छ। बिहान ९ बजेदेखि कार्यालय सञ्चालन हुँदा सेवाग्राहीलाई समेत सहज भएको सरकारको दाबी छ।
सांसदहरुले भने दुई दिने बिदाले शिक्षा, व्यापार तथा सरकारी सेवामा असर परेको भन्दै पुनः सातामा एक दिन मात्र बिदा दिने व्यवस्था लागू गर्न माग गरेका थिए। मन्त्री गौतमले तत्काल व्यवस्था परिवर्तन गर्ने कुनै गृहकार्य नभएको तर सांसदहरुले दिएका सुझावलाई सरकारले अध्ययन गर्ने बताइन्।

