


काठमाडौं,२८ साउन। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी) लिमिटेडका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा नेपाल राष्ट्र बैंकले आफ्नो धारणा सार्वजनिक गरेको छ।
राष्ट्र बैंकले घटनाबारे जानकारी प्राप्त भएको जनाउँदै बैंकको सञ्चालन तथा व्यवस्थापनलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ। साथै, विद्यमान कानुनी व्यवस्थाबारे आवश्यक राय–सुझाव लिएर छलफल भइरहेको पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ।

राष्ट्र बैंकका अनुसार, बैंकको तरलता अवस्था तथा वित्तीय सबलतासम्बन्धी सूचकहरु तोकिएको मापदण्डअनुसार सन्तोषजनक छन्। बैंकको दैनिक कारोबार तथा सञ्चालनमा तत्काल कुनै जटिलता उत्पन्न हुने अवस्था नरहेको पनि राष्ट्र बैंकले जनाएको छ।
अदालतमा मुद्दा विचाराधीन रहेकाले मुद्दाको प्रकृति, समयावधि र गम्भीरताका साथै बैंकको दैनिक सञ्चालन अवस्थालाई ध्यानमा राखी आवश्यक थप छलफल तथा कानुनी राय लिइने राष्ट्र बैंकको भनाइ छ।
कानुनबमोजिम बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापन तथा समग्र सञ्चालनका सम्बन्धमा आवश्यक कदम चालिने राष्ट्र बैंकले जनाएको छ।

