


काठमाडौं,२९ साउन। सभामुख डोलप्रसाद (डिपी) अर्यालले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई छिट्टै पूर्ण रुपमा सञ्चालनमा आउने बताएका छन्।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) को ५९औँ वार्षिक साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै उनले दुवै विमानस्थलको नियमित सञ्चालनका लागि सरकारले गम्भीरतापूर्वक छलफल गरिरहेको बताए।

उनले भैरहवा र पोखरा विमानस्थलबाट हवाई सेवा निरन्तर सञ्चालन गर्ने विषयमा सरकारको तहमा घनिभूत छलफल भइरहेको जानकारी दिए। ‘भैरहवा र पोखरा विमानस्थलका विषयमा घनिभूत छलफल भइरहेको छ । मलाई विश्वास छ, छिट्टै यी विमानस्थलले निरन्तरता पाउनेछन् र त्यहाँबाट हवाई सेवा सुचारु रुपमा सञ्चालन हुनेछ,’ उनले भने।
उनले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि प्रविधिको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिँदै नयाँ पुस्तालाई पर्यटन क्षेत्रमा आकर्षित गर्न विशेष पहल आवश्यक रहेको बताए।
वर्तमान सरकार र संसद्मा युवाको उल्लेख्य सहभागिता रहेको उल्लेख गर्दै उनले देशको विकास र समृद्धिका लागि केही समय धैर्य गर्न नागरिकलाई आग्रह गरे।

