


काठमाडौं,२९ साउन। गृहमन्त्री सुधन गुरुङले मन्त्रालयका सचिव र प्रहरी प्रमुखमाथि लेखा समितिमा गरिएको व्यवहारप्रति आपत्ति जनाएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको कानुन समितिको बैठकमा मन्त्री गुरुङले आफ्नो अनुपस्थितिमा गृह सचिव र प्रहरी प्रमुखप्रति गरिएको व्यवहार तथा प्रस्तुतिप्रति आपत्ति जनाउँदै मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताए।

उनले उजुरी वा आरोप लाग्दैमा कसैलाई दोषी करार गर्दै चरित्र हत्या गर्न नमिल्ने भन्दै न्यायिक तथा कानुनी प्रक्रिया पूरा नगरी समितिमा त्यस्तो व्यवहार गरिनु अनुचित भएको धारणा राखे।
उजुरीकै आधारमा कोही पनि न्यायाधीश बन्न नहुने उल्लेख गर्दै मन्त्री गुरुङले वर्तमान सरकारको स्पिरिटअनुसार प्रहरी प्रशासन दिनरात खटिरहेको बताए।
प्रहरीको पोसाक र अन्य सामग्री खरिदको विषयमा परेको उजुरीलाई नैतिकतासँग जोडेर रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरी प्रमुख लगायतमाथी प्रश्न गर्दै आएका छन् । गत बुधबार सार्वजनिक लेखा समितिको बैठकमा पनि उक्त विषयमा सांसद सुनारले यो विषय उठाएका थिए ।
यसैबीच, मन्त्री गुरुङले कारागारभित्र ‘नाइके’, ‘भाइनाइके’ र ‘चौकीदार’ नियुक्तिमा देखिएका विकृति तथा जेललाई कमाइको माध्यम बनाउने प्रवृत्तिका कारण हाललाई उक्त नियुक्ति प्रक्रिया रोकिएको जानकारी दिए।
उनले अबदेखि चौकीदार नियुक्तिका लागि पारदर्शी मापदण्ड लागू गर्न निर्देशन दिइसकेको पनि बताए।

