


हृदयराम गुप्ता
मर्चवार,३१ साउन। रुपन्देही क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य कन्हैया बनियाले भारतसँग जोडिएको सीमा नाका कालिदहलाई स्वच्छ, व्यवस्थित र आकर्षक बनाउँदै देशकै प्रमुख पर्यटकीय प्रवेशद्वारका रुपमा विकास गर्ने योजना अघि बढाइएको बताएका छन्।
सांसद बनियाको नेतृत्वमा शनिबार कालिदह क्षेत्रमा सरसफाइ अभियानसमेत सञ्चालन गरिएको थियो । लुम्बिनीसँग नजिक रहेको ऐतिहासिक तथा धार्मिक महत्वको कालिदहलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सरसफाइसँगै आवश्यक पूर्वाधार निर्माणको पहल अघि बढाइएको उनले बताए।

सुनौली नाकाको ढाँचामा कालिदहमा चार लेनको वातावरणमैत्री सडक, व्यवस्थित ढल निकास, हरियाली प्रवद्र्धन र वृक्षरोपणलगायतका पूर्वाधार निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए। आवश्यक प्रक्रिया पूरा गरी निर्माणसम्बन्धी टेन्डर प्रक्रियामा जाने तयारी भइरहेको उनको भनाई छ ।

कालिदहलाई लुम्बिनी–सालझण्डीसँग जोड्ने गरी चार लेनको सडक निर्माण गर्ने योजना रहेको बताउँदै उनले सडक तथा पूर्वाधार निर्माणपछि भारतबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई लुम्बिनी पुग्न सहज हुने बताए।
सांसद बनियाले कालिदहलाई केवल सीमा आवागमनको केन्द्र नभई लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकको पहिलो स्वागतस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिए। त्यसका लागि स्थानीय व्यापारी, व्यवसायी तथा बासिन्दालाई सरसफाइ, वृक्षरोपण र वातावरण संरक्षण अभियानमा सक्रिय सहभागी हुन उनले आग्रह गरे।
लामो समयदेखि उपेक्षामा परेको कालिदहलाई पर्यटकीय तथा व्यापारिक दृष्टिले महत्वपूर्ण नाकाका रुपमा विकास गर्न सके स्थानीय आर्थिक गतिविधि विस्तार हुनुका साथै लुम्बिनी आउने पर्यटकको आवागमनसमेत बढ्ने सांसद बनियाको विश्वास छ।

