


दाङ,१ भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागपञ्चमी, गुरही तथा गुडिया पर्वले सामाजिक सद्भाव, आपसी सम्मान र एकतालाई बलियो बनाउने बताएका छन।
नागपञ्चमी तथा थारु समुदायले मनाउने गुरही र मधेसी समुदायको गुडिया पर्वको अवसरमा सोमवार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको विविधतायुक्त सांस्कृतिक पहिचानलाई समृद्ध बनाउन मौलिक पर्वहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गरेका हुन।

उनले नागपञ्चमी प्रकृति, संस्कृति र परम्परासँग जोडिएको पर्व भएको बताउँदै यसले नागदेवताको पूजा आराधनासँगै प्रकृति, पर्यावरण र जीवजन्तुप्रति सम्मान तथा संरक्षणको भावना विकास गर्न प्रेरणा दिने उल्लेख गरे। उनले नागपञ्चमीले मानव र प्रकृतिबीचको सम्बन्धलाई सुदृढ बनाउँदै प्राकृतिक सम्पदाको संरक्षण र सहअस्तित्वको सन्देश दिने बताए।
त्यसैगरी, थारु समुदायले परम्परागत रुपमा मनाउँदै आएको गुरही पर्वले समुदायको मौलिक संस्कृति, सामाजिक एकता र आपसी सद्भावलाई अभिव्यक्त गर्ने उनको भनाइ छ। वर्षायाममा लाग्ने रोगव्याधि तथा नकारात्मक प्रभावबाट मुक्ति मिलोस् भन्ने कामनासहित मनाइने गुरही पर्वले प्रकृति र समुदायको सुख, शान्ति तथा समृद्धिको कामना गर्ने सांस्कृतिक महत्व बोकेको उनले उल्लेख गरे।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको बताउँदै यहाँ मनाइने विभिन्न पर्वहरुले आपसी सम्मान, सहिष्णुता, सद्भाव र एकतालाई थप बलियो बनाउँदै आएको बताए ।
उनले मौलिक संस्कृति, परम्परा र पर्वहरुको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन। यस्ता पर्वहरुले सामाजिक एकता र राष्ट्रिय भावनालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

