


काठमाडौं,१ भदौ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरुले विरोध जारी राखेपछि सभामुख अर्यालले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गरेका हुन्।

सभामुखले भने, ‘प्रतिनिधि सभाको बैठकमा उपस्थित भइ नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरुको प्रश्नको जवाफ दिने म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।’
सीमा सम्बन्धी अभिव्यक्ति र प्रश्नोत्तरमा सहभागी भई प्रधानमन्त्रीले जवाफ दिनुपर्ने मागसहित विपक्षी दलहरुले लामो समयदेखि सदनमा विरोध जनाउँदै आएका छन्। सभामुखको निर्देशनपछि विपक्षी दलका सांसदहरूले आसन ग्रहण गरेका छन्।
प्रतिनिधिसभा नियमावलीमा प्रत्येक महिनाको पहिलो साता संसदमा उपस्थित भएर प्रधानमन्त्रीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ।

