


काठमाडौं,१ भदौ। सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा गरेको छ। अर्थ मन्त्रालयका अनुसार, ३५० रुपैयाँ बराबरको सामान खरिद गर्ने एक उपभोक्ताले १० लाख रुपैयाँको मुख्य पुरस्कार जितेका छन्।
मुख्य पुरस्कार जित्ने उपभोक्ताले गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गरेका थिए। यस्तै, सरकारले एक लाख रुपैयाँका दरले पुरस्कार प्राप्त गर्ने १६ जना विजेताको नामसमेत सार्वजनिक गरेको छ।

साउन १६ देखि ३१ गतेसम्म नियमसम्मत कारोबार गर्ने उपभोक्तालाई उक्त पुरस्कार योजनामा सहभागी गराइएको थियो। यस अवधिमा नगद कारोबारतर्फका ३ लाख ५७ हजार १४९ वटा बिल उपहार योजनाका लागि दर्ता (अपलोड) भएका थिए। साउनको पहिलो १५ दिनमा भने यस्तो बिलको संख्या ७ हजार ७७ मात्रै थियो।
त्यसैगरी, क्यूआर कारोबारमार्फत उपहार योजनामा स्वतः सहभागी हुने उपभोक्ताको कारोबार संख्या पनि उल्लेख्य रुपमा बढेको छ। अर्थ मन्त्रालयका अनुसार, यस्तो कारोबार पहिलो १५ दिनको २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको छ।
विभागका अनुसार पछिल्लो १७ दिनको उपहार योजनामा कुल कारोबार संख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको छ।

