


दाङ,१ भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो ।
मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले,नेपाली कम्युनिष्ट पार्टी,राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन् । प्रदेश सभामा कायम ८३ सदस्यमध्ये ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए ।

विश्वासको मतको पक्षमा परेको ४५ मत बहुमत रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा सभामुख तुलाराम घर्तीमगर गरे।
प्रदेश सभा बैठकमा आठजना सांसद अनुपस्थित रहेका थिए । हाजिरी अभिलेखअनुसार अनुराग खड्का,अम्बिका काफ्ले,आशिष कुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मलमदेवी थारु,माया पुन र सरोज थापा बैठकमा अनुपस्थित रहेका थिए ।
नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभाबाट विश्वासको मत लिएका हुन्। कांग्रेसले समर्थन फिर्ता लिएपछि सरकारको पक्षमा रहेको दलहरूको समर्थन कायम राख्दै मुख्यमन्त्री आचार्यले बहुमत जुटाएका हुन्।

