


भैरहवा, २ भदौ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) प्रहरीले भन्सार छलेर भित्राइएको ठूलो परिमाणमा कपडा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प) का सूचना अधिकारी एवं डीएसपी अनिल पण्डितका अनुसार, बिल बिजक नभएको भन्सार छलेर अबैध सरसामान ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कावासोती नगरपालिका-८ स्थित फलफुल चोकमा ना ३ ख ४६७२ नम्बरको ट्रक चेकजाँदा ६२ लाख ५० हजार बढी मूल्य बराबरको कपडा बरामद भएको हो।

पश्चिमबाट पूर्व नारायणगढतर्फ जाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको उक्त ट्रकबाट विभिन्न रंगका कुर्था सुरुवाल २१६० थान, साडी १५०० थान, काँचो कपडा २२५ थान (६८७५ मिटर), काँचो कपडा ३१५ थान (७६८७ मिटर) बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, नियन्त्रणमा लिइएको ट्रक, चालक र कपडा आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको छ। उक्त ट्रक नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बाट गएको बताइएको छ।

