


काठमाडौं,४ भदौ। वैदेशिक रोजगारीका लागि साउन महिनामा मात्रै ७० हजार ४४१ नेपालीले अन्तिम श्रम स्वीकृति लिएका छन्।
वैदेशिक रोजगार विभागका अनुसार, श्रम स्वीकृति लिनेमा पुरुषको सङ्ख्या ६० हजार ४७२ जना र महिला ९ हजार ९६९ जना रहेका छन्।

साउनमा नेपाली श्रमिकको प्रमुख गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ। युएईका लागि १८ हजार ७८४ जनाले श्रम स्वीकृति लिएका छन्। यस्तै, मलेसियाका लागि १२ हजार ४९८ जना, कतारमा १० हजार ३६० जना, साउदी अरबमा ८ हजार ६१३ जना, कुवेतमा ४ हजार ५६७ जना र रोमानियामा २ हजार ९०८ जनाले श्रम स्वीकृति लिएका छन्।
जिल्लागत रुपमा धनुषाबाट सबैभन्दा धेरै ३ हजार ३६८ जनाले श्रम स्वीकृति लिएका छन्। झापाका ३ हजार १४५ जना, मोरङका २ हजार ८३५ जना, सिराहाका २ हजार ६४८ जना र महोत्तरीका २ हजार ६२९ जना रहेका छन्।
सीपका आधारमा दक्ष श्रमिकको सङ्ख्या सबैभन्दा बढी छ। विभागका अनुसार, ४० हजार ४९६ जना दक्ष, १७ हजार ९९९ जना अदक्ष र ११ हजार ४६५ जना अर्ध–दक्ष श्रमिकका रुपमा विदेशिएका छन्। उच्च दक्ष र व्यावसायिक क्षेत्रमा जानेको सङ्ख्या क्रमशः १०३ र ३७८ जना रहेको छ।
कुल स्वीकृतिमध्ये २९ हजार ४४७ जनाले म्यानपावर कम्पनीमार्फत र २७ हजार ७४८ जनाले व्यक्तिगत रुपमा पुनः श्रम स्वीकृति लिएका छन्। यस्तै, १२ हजार ४४२ जनाले नयाँ व्यक्तिगत श्रम स्वीकृति लिएका छन् भने ७१२ जना सरकार–देखि–सरकार प्रक्रियामार्फत वैदेशिक रोजगारीमा गएका छन्।

