

रसुवा,१२ भदौ। रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन सशस्त्र प्रहरीको उद्धार टोलीले माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकालाई सकुशल उद्धार गरेको छ।
शुक्रबार साँझ करिब ६ः१५ बजे खोज तथा उद्धारमा खटिएको टोलीले माटोमुनिबाट बालिका रोइरहेको आवाज सुनेपछि तत्काल खोजी गर्दा उनलाई पुरिएको अवस्थामा फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ। सीमा सुरक्षा चौकी टिमुरेबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ६ जनाको टोलीले बालिकालाई उद्धार गरी चौकीमा ल्याएको हो।
Advertisement

Advertisement
Advertisement
अचेत अवस्थामा फेला परेकी बालिकाको अवस्था कमजोर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गर्ने पहल भइरहेको छ। तर, रातिको समय भएकाले तत्काल हेलिकप्टर उडान सम्भव नभएको जनाइएको छ। बाढी–पहिरो प्रभावित टिमुरेमा सुरक्षाकर्मीले जोखिमका बीच खोज तथा उद्धार कार्य जारी राखेका छन्।





