

भैरहवा, २७ असोज। रुपन्देहीको भैरहवामा आगामी मंसिर १७ देखि २८ गतेसम्म दसौँ लुम्बिनी राष्ट्रिय महोत्सव–२०८३ आयोजना हुने भएको छ। सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले पर्यटन, उद्योग, कृषि तथा व्यापारको प्रवर्द्धन र स्थानीय उत्पादनको बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको हो।
‘पर्यटन, उद्योग, कृषि र व्यापार : राष्ट्रिय समृद्धिको आधार’ भन्ने नारासहित आयोजना हुने महोत्सवमा उद्योग, व्यापार, कृषि, घरेलु तथा साना उद्योग र महिला उद्यमीका गरी करिब ३०० स्टल रहनेछन्।
Advertisement

Advertisement
Advertisement
महोत्सवमा करिब तीन लाख दर्शक सहभागी गराउने र १० करोड रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखिएको संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक नेत्रप्रसाद आचार्यले जानकारी दिए।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले महोत्सवमा स्थानीय उत्पादनदेखि राष्ट्रियस्तरका उद्योगबाट उत्पादित वस्तु तथा सेवासम्मको प्रदर्शनी गरिने बताए। स्थानीय कृषिजन्य वस्तु, माछा, हस्तकला तथा घरेलु उद्योगका उत्पादनलाई विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ।
महोत्सवका क्रममा लुम्बिनी, तिलौराकोट, देवदह र रामग्रामजस्ता बौद्ध तथा पुरातात्त्विक पर्यटकीय क्षेत्रलाई समेटेर पर्यटन प्याकेज निर्माण गर्ने योजना पनि रहेको छ। यसका साथै सांस्कृतिक कार्यक्रम, विद्यार्थीका सिर्जनात्मक गतिविधि तथा स्टार्टअप उद्यमीलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरिनेछ।
नेपाल–भारत सीमावर्ती क्षेत्रको व्यापारिक गतिविधि विस्तार, स्थानीय उत्पादनको बजार प्रवर्द्धन, पर्यटन विकास र रोजगारीका अवसर सिर्जना गर्न महोत्सवले योगदान पुर्याउने अपेक्षा आयोजकले गरेको छ।





