


नवलपुर,१ असोज। नवलपुरको हुप्सेकोट गाउँपालिका–६, पेलेगामा करिब ६ महिनादेखि जमिनमुनिबाट निरन्तर निस्किरहेको धुँवामा कार्बन मोनोअक्साइड ग्यासको उपस्थिति रहेको भूगर्भविद्हरुले प्रारम्भिक निष्कर्ष निकालेका छन्। विज्ञ टोलीले उक्त क्षेत्रमा ज्वालामुखीको सम्भावना नरहेको स्पष्ट पारेको छ।
खानी तथा भूगर्भ विभाग, धौवादी फलाम कम्पनी लिमिटेड र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का विज्ञ सम्मिलित टोलीले स्थलगत अध्ययन गर्दै माटो, ढुङ्गा, पानी, धुँवा र वनस्पतिका नमुना संकलन गरेको छ।

टोलीका प्रमुख भूगर्भविद् प्रकाश लुइँटेलका अनुसार चट्टानमा कार्बन मोनोअक्साइड ग्यासको मिश्रण देखिएकाले धुँवा निस्किएको हुनसक्ने प्रारम्भिक आकलन गरिएको हो।
लुइँटेलले अन्य तत्वको समेत उपस्थिति हुनसक्ने भएकाले नमुना परीक्षणपछि मात्र विस्तृत विवरण प्राप्त हुने बताए। उनले धुँवा निस्किरहेको स्थानमा नजान र त्यहाँबाट बग्ने पानी नपिउन स्थानीयवासीलाई आग्रह गरेका छन्।
स्थानीयवासीका अनुसार चैतबाट सामान्य देखिए पनि वर्षा सुरु भएपछि धुँवाको मात्रा बढेको छ भने आँखा पोल्ने तथा स्वास्थ्यमा समस्या देखिन थालेको छ।
संकलित नमुनाको परीक्षणपछि विस्तृत प्रतिवेदन सार्वजनिक गरिने टोलीले जनाएको छ। पेलेगा क्षेत्र नेपाल सरकारको गौरवको आयोजना धौवादी फलाम खानीसँग जोडिएको क्षेत्र हो।

