


काठमाडौं,२ असोज। सरकारले विभिन्न १३ देशका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिका, भारत र चीनसहित १३ देशका लागि राजदूत नियुक्त गर्न विभिन्न व्यक्तिको नाम सिफारिस गरेको हो।
सरकारले भारतका लागि निश्चलनाथ पाण्डे, अमेरिकाका लागि चिरनजंग थापा र चीनका लागि कल्याणराज शर्माको नाम सिफारिस गरेको छ।

परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न क्षेत्रमा अनुभव र दक्षता हासिल गरेका व्यक्तिहरुलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिएको जानकारी दिए।
मन्त्रिपरिषद्बाट सिफारिस गरिएका प्रस्तावित राजदूतहरुको नाम अब संसदीय सुनुवाइका लागि पठाइनेछ। संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सरकारले सम्बन्धित मुलुकबाट अग्रिमोका लागि प्रस्ताव पठाउनेछ।
सम्बन्धित मुलुकबाट अग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले प्रस्तावित व्यक्तिहरुलाई सम्बन्धित देशका लागि नेपालको राजदूतमा औपचारिक रुपमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
यी हुन् १३ देशका लागि प्रस्तावित राजदूतका नामवली :
१) डा. निश्चलनाथ पाण्डे, भारत
२) डा. कल्याणराज शर्मा, चीन
३) चिरनजंग थापा, संयुक्त राज्य अमेरिका
४) गौरव शम्शेर जंगबहादुर राणा, बेलायत
५) जिग्यान कुमार थापा, जापान
६) सुरेशकुमार कर्ण, इजरायल
७) प्राप्ति शेरचन, स्पेन
८) शारु जोशी, जर्मनी
९) डा. पद्माक्षी राणा, ओमान
१०) चूडामणि खरेल, मलेसिया
११) प्रा.डा. सङ्गम श्रेष्ठ, दक्षिण कोरिया
१२) डा.मंचल झा, श्रीलंका
१३) गिरीबहादुर सुनार, साउदी अरेबिया

