


काठमाडौं,२ असोज। प्रधानमन्त्री बालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरुलाई आफ्नो पुस्ताका लागि आफैं उदाहरण बनेर काम गर्न आग्रह गरेका छन्।
जेनजी उमेर समूहका सांसदहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री शाहले जनजीविकासँग जोडिएका आधारभूत समस्या समाधानसँगै युवा पुस्तालाई आत्मनिर्भर बनाउन नवीन सोचका साथ अघि बढ्न आग्रह गरेका हुन्।

उनले स्वदेशमै रोजगारी तथा अवसर सिर्जना गर्न स्थलगत अध्ययन र अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने बताए। सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै समस्या समाधानमुखी व्यवहार अपनाउन तथा पुराना र अव्यावहारिक सोच त्याग्नसमेत उनले सांसदहरुलाई सुझाव दिए।
प्रधानमन्त्री शाहले राजनीतिलाई मात्र पेशा नबनाउन सांसदहरुलाई आग्रह गर्दै आम्दानीको छुट्टै व्यावसायिक आधार खडा गर्न सुझाव दिए। दीर्घकालीन रुपमा आत्मनिर्भर बन्दै आफ्नो पुस्ताका लागि प्रेरणाको स्रोत बन्न उनले आग्रह गरे।
अन्तरक्रियामा सहभागी जेनजी उमेर समूहका सांसदहरुले प्रधानमन्त्री शाहका सुझावलाई अभिभावकीय मार्गदर्शनका रुपमा लिँदै आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन तथा स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्ने दिशामा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

