


भैरहवा,२ असोज। नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय सहयोगीका विभिन्न पदमा ३३४ जनाका लागि नयाँ भर्ना खुलाएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत मानव स्रोत विकास विभागको वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले शुक्रबार एक सूचना जारी गर्दै खुला प्रतियोगितामार्फत पदपूर्ति गर्न योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।

माग गरिएका पदमा प्रहरी सहायक निरीक्षक (जनपद) २११ जना, प्रहरी कार्यालय सहायक (भान्छे) ८३ जना, हजाम १५ जना र प्रहरी कार्यालय सहयोगी (कुचिकार) २५ जना रहेका छन्।
इच्छुक उम्मेदवारले असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ। असई पदका लागि अनलाइनमार्फत आवेदन दिन सकिनेछ भने प्रहरी कार्यालय सहयोगी पदका लागि तोकिएका कार्यालयमा स्वयं उपस्थित भएर आवेदन दिनुपर्ने जनाइएको छ।

